२०८२ साउन १४ , बुधबार

लैङ्गिक न्याय प्रवर्द्धनमा आवश्यक सुधार गर्न कर्णाली सरकार तत्पर – मुख्यमन्त्री यामलाल कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लैङ्गिक न्याय प्रवर्द्धन र न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने बताएका छन् ।

आज राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कँडेलले न्यायिक समितिका सदस्यहरूका समस्याबारे जानकारी लिँदै प्रदेश सरकार न्यायिक समितिका लागि आवश्यक सुधार गर्न कर्णाली सरकार तयार रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा सरकार समक्ष बालविवाह, बहुविवाह, घरेलु हिंसा र ठगीका उजुरीहरूको बढ्दो सङ्ख्या र समस्याबारे सहभागीले जानकारी गराएका थिए ।

कानुनी परामर्शदाताको अभाव, बजेटको कमी, समन्वयको समस्या र पीडितलाई तत्काल न्याय नपाउने जस्ता न्यायिक समितिको चुनौती रहेको पाइएको छ ।

मुख्यमन्त्री कँडेलले यस अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिएको र कर्णाली प्रदेश सरकारले आफ्नो क्षमताअनुसार गर्नुपर्ने काम पूरा गर्ने बतायका छन् ।

कार्यक्रममा प्रदेश प्रहरीका प्रवक्ता शिवकुमार श्रेष्ठले कर्णालीमा लागुऔषधको कारोबार तीव्र रुपमा बढे संगै अधिकांश अपराधहरूको मूल कारण लागुऔषध रहेको जानकारी दिदै  प्रहरी समक्ष लैङ्गिक हिंसाका उजुरी धेरै आउने गरेको बतायका छन् । प्रदेश प्रहरीका प्रवक्ता श्रेष्ठले कर्णालीमा बलात्कारका उजुरीहरू सबैभन्दा धेरै त्यसपछि बहुविवाह र घरेलु हिंसा प्रमुख समस्या र बालविवाह भने समुदायमै मिलाइने गरेको पाइएकाले प्रहरीम नपुग्ने गरेको बताए ।

प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार